images

भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै

काठमाडौं । भारतको महाराष्ट्र र झारखण्डमा विधान सभा चुनावको मतगणना भइरहेको छ । बिहान साढे ८ बजेपछि मतगणना शुरू भएको हो । प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधान सभामा भारतीय जनता पार्टी भाजपा नेतृत्वको गठबन्धनले सुरुआती अग्रता लिएको छ । महाराष्ट्रका दुई सय ८८ मध्ये ७३ सिटको मतगणना चलिरहेको छ । त्यसमध्येका ६२ सिटमा भाजपा नेतृत्वको गठबन्धनले अग्रता लिएको छ । कंग्रेस आई नेतृत्वको गठबन्धनले ७ सिटमा मात्रै अग्रता लिएको छ ।

त्यस्तै झारखण्डको ८१ मध्ये ३१ सिटको मतगणना हुँदा भाजपा नेतृत्वको गठबन्धनले २४ सिटमा अग्रता लिँदा ७ सिटमा झारखण्ड मुक्ति मोर्चा र कंग्रेस आईसहितको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । महाराष्ट्र विधान सभामा बहुमतका लागि एक सय ४५ सिट र झारखण्ड विधानसभाका लागि ४१ सिट जित्न आवश्यक छ । महाराष्ट्रको दुई सय ८८ विधान सभा सिटका लागि बुधवार एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा मतदान भएको थियो ।

महाराष्ट्रमा ६५ प्रतिशत र झारखण्डमा झण्डै ६८ प्रतिशत मत खसेको छ । यी दुई राज्यका विधान सभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोक सभा सिटका साथै केही राज्यका विधान सभा सिटका लागि उपचुनाव भएको छ ।