
काठमाडौं । पोखरा विमानस्थल अध्ययन तथा अनुगमन गर्न गठित सार्वजनिक लेखा उपसमितिले तयार पारेको प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाइएको छ ।
उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई सोमबार प्रतिवेदन बुझाएका हुन ।
प्रतिवेदन बुझाउँदै लिङ्देनले प्रतिवेदनमा विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता देखिएको र त्यसलाई प्रतिवेदनमा समेटिएको बताएका छन् । सो प्रतिवेदनलाई लिएर उपसमितिको सर्वसम्मति नरहेको भन्ने कुरामा सत्यता नरहेको पनि उनले बताए ।
सदस्यहरू गोकुल बाँस्कोटालगायतले त्यसमा हस्ताक्षर नगरे पनि सबैको सहमतिमा प्रतिवेदन बनेको लिङ्देनको दाबी छ । १४ अर्बको लागत अनुमान २२ अर्ब र्पुयाइएको विषय र करछुट दिएको विषयलाई उपसमितिले गम्भीर रुपमा लिएको र छानबिनका लागि सम्बन्धित निकायलाई सिफारिस गरेको उनको भनाइ छ ।
त्यसरी लागत बढे पनि त्यसअनुसार काम भएको कागजपत्रले पनि सपोर्ट नगरेको उनले बताए । ३२ करोड २ लाखमा छिनेडाँडा काटिएको उपसमितिले उल्लेख गरेको छ । त्यसमा करछुटबारे सम्झौतामा यो मूल्यभित्र सबै कर समावेश छन् भन्ने रहेको र त्यसको अर्थ निर्माण कम्पनीकै दायित्व हुँदाहुँदै पछि छुट्टै सम्झौता गरी करछुट गरिएको लिङ्देनले बताएका छन् । प्राविधिक क्षेत्रले ठ्याक्कै कति भ्रष्टाचार भएको भन्ने रकम निक्र्योल गर्ने उनले बताए ।