images
images

शिक्षकका माग पूरा गर्न वार्षिक १३ अर्बमात्रै लाग्छ, राज्यलाई ठूलो कुरा होइनः अध्यक्ष सुवेदी

काठमाडौं । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने बताएका छन् । परिणाम नआएसम्म आन्दोलनबाट पछि नहट्ने उनको दाबी छ ।

आज आन्दोलनकै क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुवेदीले भने, ‘लक्ष्यभेदन नगरेसम्म, अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नभएसम्म हामी आन्दालेनबाट बाहिर जाँदैनौं ।’

उनले सहमतिहरूलाई ३ वर्गमा बाँडिएको सुनाए । सुवेदीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट हुन सक्ने कुराहरू पहिलो वर्गमा मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्नेलाई दोस्रो वर्गमा र ऐन कानून बनाउनुपर्नेलाई तेस्रो वर्गमा राखिएको छ ।

उनले भने, ‘मन्त्री र मन्त्रीपरिषदबाट हुन सक्ने काम अविलम्ब गर्नुपर्छ । ऐन कसरी जारी हुने भनेर मार्गचित्रसहित छलफल गरेर अगाडि जानुपर्छ भनेर सरकारसित भनेका छौं ।’

आफूहरूको मागमा सरकार संवेदनशील नभएकाले कुरा मिल्न नसकेको सुवेदीको भनाइ छ ।

‘सरकार संवादमा बसे पनि संवेदनशील भएको छैन । त्यसैले आन्दोलन लम्बिरहेको छ । परिणममा नपुगेसम्म आन्दोलन रोकिँदैन । यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने अभियानमा छौं’, उनले भने ।

सुवेदीले आन्दोलनका मागहरू पूरा गर्न सरकारलाई वार्षिक झण्डै १३ अर्ब लाग्ने हिसाब सुनाएका छन् ।