
काठमाडौं । सरकारले बिहीबारदेखि श्रम संसार पोर्टल सञ्चालनमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम संसार पोर्टलको शुभारम्भ गरेका छन् । अब सरकारीदेखि निजी संघसंस्थासम्मले कर्मचारी खोज्न एवं कसैलाई रोजगारी चाहिए यही आधिकारिक पोर्टलको सहारा लिन सकिने भएको छ ।
श्रम संसार पोर्टल के हो ?
श्रम संसार एक डिजिटल प्लेटफर्म हो, जसले रोजगार खोज्ने व्यक्तिहरू, रोजगारदाता, तालिम प्रदायक, र रोजगार सेवा प्रदायकहरूलाई एउटै अनलाइन प्रणालीमा जोड्ने उद्देश्य राख्दछ । यस पोर्टलमार्फत प्रयोगकर्ताहरूले नयाँ रोजगारी खोज्न, आवेदन दिन, तालिम जानकारी प्राप्त गर्न र रोजगारदाता तथा तालिम प्रदायकहरूसँग सम्पर्क गर्न सक्नेछन् ।
श्रम संसार पोर्टलका विशेषताहरूः
रोजगारी खोजीः प्रयोगकर्ताहरूले विभिन्न रोजगारी अवसरहरू खोज्न र आवेदन दिन सक्नेछन् ।
तालिम जानकारीः विभिन्न तालिम कार्यक्रमहरूको जानकारी प्राप्त गर्न सकिनेछ ।
रोजगारदाता र सेवा प्रदायकहरूको दर्ताः रोजगारदाता, तालिम प्रदायक, र सेवा प्रदायकहरूले पोर्टलमा दर्ता गरी आफ्नो सेवा प्रस्तुत गर्न सक्नेछन् ।
साझेदारी र समन्वयः स्थानीय सरकार, संघसंस्था, र निजी क्षेत्रसँग समन्वय गरी रोजगार अवसरहरू सिर्जना गर्ने उद्देश्य राखिएको छ । श्रम संसार पोर्टलको शुम्भारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिकलाई जोड्न श्रम संसारले पुलको काम गर्ने विश्वास व्यक्त गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम संसार पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गरे ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल श्रमिकको हितमा ध्यान दिँदै उनीहरुलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताउँछन् ।
यो पोर्टलले नेपालमा रोजगार खोज्ने व्यक्तिहरूलाई सजिलो, पारदर्शी, र पहुँचयोग्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा आधारित यो प्रणालीले श्रम बजारको माग र आपूर्तिको विश्लेषण गरी रोजगार अवसरहरू सिर्जना गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।