
काठमाडौं । तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भयो।
जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो। आर्मीको ब्याटिङमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिए । उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे।
निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए। विशाल सुश्लिंगले १८, कप्तान विनोद भण्डारीले ७ रन बनाउन सके। राम्रो सुरुवात गरेको आर्मीले १३० रन बनाउँदा मात्र १ विकेट गुमाएको थियो।
२७सौं ओभरमा हिमांशु दत्तालाई बिपिन खत्रीले क्याच आउट गरेपछि पुलिस खेलमा फर्किएको थियो। दायाँ हाते मिडीयम पेसर श्रवन यादवले विनोद भण्डारी, नरेन साउद, तुल बहादुर थापा र सुमित श्रेष्ठको विकेट लिंदै पुलिसलाई जित दिलाउन अहम भूमिका खेले।
पुलिसको बलिङतर्फ श्रवन यादवले सर्वाधिक ४ विकेट लिए । चित्र विष्ट २ विकेट लिँदा बिपिन खत्री र सुनिल दौल्यालले १र१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो।
पुलिसको ब्याटिङमा अरुण ऐरीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ८९ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान शंकर रानाले ५१ रन बनाए जुन क्रममा ८१ बलमा १ चौका र ४ छक्का प्रहार गरे। दिपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए।
७७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको लागि अरुण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए। शंकरको विकेट पछि अरुण र श्रवन बीच छैठौं विकेटको लागि ४३ रनको साझेदारी भयो।
आर्मीको बलिङतर्फ दुर्गेश गुप्ता, नरेन साउद र तुल बहादुर थापाले समान २ विकेट लिए। विशाल सुश्लिंग, पवन कार्की र सुमित श्रेष्ठले १र१ विकेट लिए।
एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले ४ लाख नगदसहित ट्रफी हात पार्यो भने आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए जसले २५ हजार रुपैयाँ पाए। यस्तै उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर कोशी प्रदेशका प्रेम कामत घोषित भए।
उत्कृष्ट बलर र ब्याटरले जनही रु। १५ हजार रुपैयाँ पाए। फाइनल खेलको प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए जसले ४ हजार रुपैयाँ पाए।
एक साता सम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता थियो।