
काठमाडौं । पोखरा विमानस्थल अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफल चलाउन आलटाल गरेको भन्दै सांसदहरुले सार्वजनिक लेखा समितिको प्रभावकारीतामाथि नै प्रश्न उठाएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे उपसमितिले बनाएको प्रतिवेदनमा छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरुले समितिले समयमै निर्णय लिन नसेकको, भएका निर्देशनहरुलाई समेत कार्यान्वयन गराउन नसकेको, प्रधानमन्त्री–मुख्यसचिवलाई समितिमा डाकेर जवाफदेही बनाउन नसकेको भन्दै सांसदहरुले सभापति ऋषिकेश पोखरेलको आलोचना गरे।
समितिको बैठकमा सांसद डा.अमरेशकुमार सिंहले संसदीय समितिको प्रभवकारीता घट्दै गएको बताए। लेखा समितिले प्रधानमन्त्री, मुख्यसचिव बोलाउन नसकेको भन्दै उनले सभापतिको आलोचना गरे।
संसद्को बैठक देखाएर समिति बैठक रोक्न नहुने उनको भनाइ छ। बेरुजु फर्छ्यौटका बेला जसरी रातदिन नभनी समिति बैठक बस्यो, पोखरा विमानस्थलमा भएको अनियमितताका बारेमा त्यसरी नै छलफल हुनुपर्ने बताए।
सांसद एवं पोखरा विमानस्थल अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले आयोजनास्थलमा पुगेर अध्ययन अनुसन्धान गरेको बताउँदै प्रतिवेदनमाथि शंका नगर्न आग्रह गरे।
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पोखरा विमानस्थलमा भएको अनियमिततामा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि प्रश्न उठाउनुभन्दा पनि छिटो कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद अमललाल मोदीले उपसमितिले प्रतिवेदन दिइसकेपछि छलफल गरेर समितिले छिटो निर्देशन दिनुपर्ने बताए। उनले समिति न्यायिक नभए पनि निर्देशन लागू गराउन दबाब दिने तहमा रहेको बताए।
समिति सभापति ऋषिकेश पोखरेलले सांसदहरुकै व्यवहारबाट समितिको ओज घटाउने काम भएको बताएका छन्। समिति न्यायाधीश नभएको बताउँदै उनले लेखा समितिलाई सांसदहरुको प्रस्तुति हेर्दा न्यायिक निकायजस्तै हुनुपर्ने जस्तो देखिएको बताए।