
काठमाडौं । कवाड व्यवसायी समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरेर गरीखान नदिएको भन्दै समाजले आज सोमबार मन्त्री गुप्तासमक्ष ज्ञापनपत्र बुझाएको हो।
काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि गुण्डागर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले आफ्नो पेशागतसहित जीउधनको सुरक्षाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग हारगुहार गरेका हुन्।
काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, सङ्कलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, सङ्कलक र मजदुरका साइकल र सामान जफत गर्ने काम गरिरहेको छ,’ ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष राम केवल गुप्ताले भने, ‘काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र सङ्कलहरूको टाउको फुटेको र अङ्गभङ्ग भएका छन्। खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरबाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेका छन्।’
कवाड व्यवसायी र सङ्कलकमाथि भइरहेको यो प्रकारको महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जीउधनको रक्षा गरिदिन उनीहरूले मन्त्री गुप्तासमक्ष अनुरोध गरेका छन्।