
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
पहिलो चरणमा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरूले आफ्नो धारणा राखेका थिए भने अहिले दलीय आधारमा आफ्नो धारणा राखिरहेका छन् ।
बुधबारको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले स्रोत सुनिश्चित भएर मात्रै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । मुलुक कृषि प्रधान देश भए पनि आत्मनिर्भर बन्न नसकेको हुँदा सरकारले आगामी दिनमा आत्मनिर्भर बनाउन प्रयास गर्नुपर्ने उनको भनाइ छ । गैरआवासीय नेपाली (एनआरएनए)को दोहोरो नागरिकता, बसोबास, सम्पति राख्नेलगायत विषयमा सरकारले छुट्टै नीति ल्याउनुपर्ने उनको भनाइ छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवको टिप्पणी छ । सांसद यादवले देशको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी ढाँचामा जानुपर्ने बताए। उनले राष्ट्रिय गौरवका आयोजना अलपत्र भएकाले यसलाई व्यवस्थित गराउँदै लानुपर्ने माग गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबार भएको छलफलमा सरकार गम्भीर नदेखिएको भन्दै पाँचबुँदे सुझाव पेश गरे ।
सरकारले दीर्घकालीन सोच नराखेको, नीति तथा कार्यक्रम यथास्थितिमा आएको, अघिल्ला सरकारको प्रतिलिपीजस्तो मात्र देखिएको भन्दै उनले अर्थतन्त्रलाई गति दिन नीति तथा कार्यक्रममा आमूल परिवर्तन आवश्यक रहेको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते आगामी आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेका थिए । त्यसपछि सोमबारबाट संसद्मा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ तर, छलफलमा सांसद्हरुको उपस्थिती भने न्यून छ ।