
काठमाडौं । भारत–पाकिस्तानबीच बढेको तनावपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
बुधबार दिउँसो बसेको बैठकमा तीन सुरक्षा प्रमुख र नेपाली सेनाका रथी निर्मलकुमार थापा सहभागी थिए । नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
छलफलमा भारत पाकिस्तानको तनावका कारण नेपालमा हुनसक्ने सुरक्षा चुनौती र त्यसका लागि नेपालले अपनाउनु पर्ने सतर्कताका बारेमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । परिस्थितिलाई नजिकबाट नियाल्ने र आवश्यकता अनुसार योजना बनाउँदै जाने, अहिलेलाई सुरक्षामा निगरानी बढाउने निर्णय भएको छ । मंगलबार रातिदेखि भारत–पाकिस्तानबीच बढेको तनावका कारण ती देशमा रहेका नेपाली नागरिकको सुरक्षाको विषयमा पनि छलफल भएको छ ।
पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदान गरिरहेको पनि सशस्त्रले जनाएको छ ।
सशस्त्रले एउटा बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिरहेको छ । अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयले विशेष निर्देशन पनि दिएको छ । सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ ।
सम्भावित जोखिमपूर्ण स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको सशस्त्रको दाबी छ ।