images

गभर्नरको उम्मेदवार बनाइएपछि सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।

पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । यसअघि सत्तागठबन्धन दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो ।

भट्टको नाममा प्रधानमन्त्री ओली सहमत हुन सकेनन् । त्यसका लागि उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई अघि सारेपछि समस्या बल्झिएको थियो । यसपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रूपमा अघि सारेको हो ।

गभर्नर हुने अवस्था आएपछि पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन् । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए । यसअघि पनि राष्ट्रबैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका थिए ।

एक नेताका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गर्नेछ । जसले पौडेलको नाम सिफारिस गर्नेछ । सबै कुरा मिलाएर अब बिहीबारसम्म गभर्नर नियुक्त गर्छु भनेर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवार्ला वचन दिएका उनले बताएका छन् ।