
काठमाडौं । बिहीबार एक्कासि विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कुनै चिन्ता नलिन आग्रह गरेका छन् ।
शुक्रबार पत्रकारहरुसँग उनले बिहीबार भएको अवरुद्धलाई उदाहरणका रुपमा लिँदै विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनुपर्ने अन्यथा यस्ता समस्या आइरहने बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको उनको दाबी छ । सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै व्यापक चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको कार्यकारी निर्देशक शाक्यले बताएका छन् ।
पटक पटक प्रयास गर्दा पनि सम्भव नभएपछि भारतसँग कोअर्डिनेसन गरेको बताउँदै दुईवटा कोड पठाएर समस्या पहिचान र समाधानको प्रयास गरेको उनको भनाइ छ। यसले गर्दा केही समय लागेको शाक्यले उल्लेख गरे । यसलाई त्यति ठूलो समस्याका रुपमा चिन्ता लिनुपर्ने अवस्था नरहेको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।
उनले तत्काल गर्नुपर्ने, १ वर्षभित्र गर्नुपर्ने र सिस्टम रिइन्फोर्समेन्टका मुख्य तीन कुराहरुबारे आवश्यक तयारी गरेको जानकारी दिए । पहिलेभन्दा अझ चुस्त विद्युत् प्रवाहको लागि प्राधिकरण अग्रसर भएको कार्यकारी निर्देशक शाक्यको दाबी छ ।