images

नेपाली क्रिकेट टोली महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा 

काठमाडौं । यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक खेलअगावै आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।

सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो ।

एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन् । लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ । यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो ।

यूएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान इन्दु वर्मा २९ रनमा अविजित रहिन् । उनले २७ बलमा २ चौका प्रहार गरिन्् । रुवि पोद्दार ६ रनमा नटआउट रहिन् ।

ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एन्ड बोल्ड भइन् । रुविना क्षेत्री २३ रन बनाउँदा ईशा ओझाको बलमा क्याच आउट हुन पुगिन् । पूजा महतो १३ रन बनाउँदै पेभेलियन फर्किइन्। राजमती ऐरीले ८ तथा कविता कुँवरले ५ रन थपे ।

त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो । दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध मंगलबार खेल्नेछ ।