images

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा, भिजिट भिसामा पैसा असुलेको आशंका

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ ।

आयोगले उनलाई बुधबार दिउँसो पक्राउ गरेर टंगालस्थित आयोगको केन्द्रीय कार्यालय लगेको छ ।

हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका भट्टराईलाई मंगलबार साँझ अचानक गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनीमाथि भिजिट भिसाको नाममा विभिन्न देश, विशेष गरी दुबईतर्फ यात्रा गर्न चाहने व्यक्तिबाट ठूलो रकम संकलन गरेको आरोप लागेको छ ।

यो विषयमा गम्भीर उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरू गरेको स्रोतको भनाइ छ । आयोगको नियन्त्रणमा रहेका उनीसँग सोधपुछ भइरहेको छ । अख्तियार स्रोतका अनुसार अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटर र महत्त्वपूर्ण कागजातहरू जफत गरेको छ ।

अख्तियारमा परेको उजुरीमा दैनिक करिब ४ सय यात्रुलाई भिजिट भिसा प्रक्रियामा सहजीकरण गर्दै प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रूपैयाँसम्म असुली गरेको उनीमाथि आरोप लगाइएको छ ।