
काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका आठ जना कर्मचारीको सरुवा गरिएको छ ।
गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो ।
सरुवा हुनेमा नायम सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन् । त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ ।
यसअघि गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई बयान लिइसकेको छ । अख्तियारले उनलाई जेठ ७ गते गृहमन्त्रालयबाट नियन्त्रणमा लिएको थियो । उनी जेठ ६ गतेमात्रै अध्यागमन विभागबाट गृहमन्त्रालय सरुवा भएर आएका थिए ।
अख्तियारले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ । यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको संगठित जालो उच्च तहबाटै सञ्चालित रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
अख्तियारले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूसँगको प्रारम्भिक बयानपछि अख्तियारले यस किसिमको धन्दाको संगठित जालो उच्च तहबाटै सञ्चालित भएको निष्कर्ष निकालेको हो ।