
काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडेर सार्वजनिक भएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा गृहमन्त्रीको संलग्नता नरहेको जिकिर गरेको हो।
‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गृहले उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै छानबिनमा पूर्ण सहयोग रहने बताएको छ।
‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ। आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ।
भिजिट भिसाका नाममा मानव बेचबिखनमा संलग्न रहेको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री लेखक पनि मुछिएका छन्।
सहसचिव भट्टराईलाई अख्तियारले बुधबार पक्राउ गरेको थियो। बुधबार पक्राउको अघिल्लो दिन मात्र लेखकले भट्टराईलाई गृह मन्त्रालयमा एकाएक सरुवा गरेका थिए।