images

नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको दाबी गरेका छन् ।

उनले नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताएका हुन् । गणतन्त्र कि राजतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्न तपाईँहरू तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले यो वाहियात कुरा भएको बताए ।

’संविधानससभा निर्वाचनमार्फत शतप्रतिशत मतमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि के को जनमत सङ्ग्रह ? जनमत सङ्ग्रह भनेको त धेरै तल्लो कुरा भयो’ उनले भने ।

अध्यक्ष प्रचण्डले आफूले तराईमा झन्डै एक करोड मान्छेसँग भेटघाट गरेको र मध्यपहाडी लोकमार्गअन्तर्गत पनि लाखौँ जनतासँग भेटेर फर्किएको बताउँदै यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य बिलकुल गलत रहेको दाबी गरेका छन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गलत काम कारबाहीको कारण जनतामा निराशा बढेको भने स्वीकार गरे । राजावादीहरूले वर्तमान सरकारको गलत क्रियाकलापबाट फाइदा उठाउँदै जनतामा बढेको असन्तुष्टिलाई क्यास गर्न खोजेको उनको आरोप छ ।

‘सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत काम कारबाहीको बारेमा नेतृत्वप्रति वितृष्णा जनतामा भएको छ । अझ पछिल्लो अहिलेको सरकार जो छ, त्यो सरकारको गलत क्रियाकलाप भ्रष्टाचारको बारेमा या सुशासनको बारेमा, सामाजिक न्याय र विभेदको बारेमा सरकारको गलत कामका कारणले मान्छेमा सरकारप्रति रुष्ट त भएकै छन् । त्यो सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजेका छन्,’ प्रचण्डले भने ।