images

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिएका छन् ।

‘छानबिनलाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, राजीनामा नदिएसम्म अवरोध जारी रहन्छ,’ उनले भने । माओवादी केन्द्र लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरूद्ध गर्दै आएका छन् । जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए ।

यसैबीच, माओवादी केन्द्रले जारी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको हो । अभियानले पार्टीप्रति आकर्षण बढेको निष्कर्षसहित जेठ २१ गतेदेखि फेरि सुरू गर्ने निर्णय  गरेको छ । माओवादीले यसअघि जेठ २ गतेदेखि १० गतेसम्म अभियान चलाएको थियो । दोस्रो चरण लमजुङबाट सुरू हुनेछ ।