images

काठमाडौंमा शान्तिपुर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास : प्रभु साह

काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा शान्तिपुर्ण प्रदर्शनमा रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज आजपा अध्यक्ष साहले सरकारद्धारा विरोध कार्यक्रम गर्न निषेध गरिएकोमा उनले विरोध गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका कार्यक्रम गर्न दुई महिनासम्मका लागि निषेध गरेको छ । सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखी दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु क्षेत्रमा विरोधका कार्यक्रम गर्न भनेको छ ।

आजपा अध्यक्ष साहले अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा सरकारले लिएको निषेधात्मक अग्रसरता गम्भीर चिन्ताको विषय भएको भन्दै सरकारको विरोध सरकारसँग सोधेर गर्नुपर्ने सरकारको अपेक्षा दुई तिहाईको दम्भ बाहेक अरु केही पनि नभएको जनाएका छन् ।

सरकारको अलोकतान्त्रिक निर्णय तुरुन्त सच्याई नेपाली जनताको संवैधानिक हकको रक्षाको ग्यारेण्टी गर्न उनले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आजपा अध्यक्ष साहले लेखेका छन् :

‘काठमाडौंमा शान्तिपुर्ण प्रदर्शनमा अघोषित रोक लगाउनु लोकतन्त्रको उपहास हो । अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा सरकारले लिएको निषेधात्मक अग्रसरता गम्भीर चिन्ताको विषय हो । सरकारको विरोध सरकारसँग सोधेर गर्नुपर्ने सरकारको अपेक्षा दुई तिहाईको दम्भ बाहेक अरु केही पनि होईन । यस्तो अलोकतान्त्रिक निर्णयलाई तुरुन्त सच्याई नेपाली जनताको संवैधानिक हकको रक्षाको ग्यारेण्टी गर्न गम्भिर ध्यानाकर्षण गराउँदछु ।’