images

सक्रिय राजनीतिमा फर्कने विद्याको संकेतले ओलीको वर्चस्वमा खतरा ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेको निकै समय भयो । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा पूर्व राष्ट्रपति भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भित्रभित्रै भुसको आगो झैं सल्किँदै गएको बताइन्छ ।

भण्डारी हाल केही नजिकका नेताहरूसँग नियमित भेटघाटमा छिन् र राजनीतिक भविष्यका विषयमा गम्भीर छलफल भइरहेको छ । यद्यपि उनले औपचारिक रूपमा राजनीतिमा फर्कने घोषणा गरेकी छैनन् ।

पार्टीभित्र ओलीको एकछत्र वर्चस्वलाई विगत केही समयदेखि विभिन्न समूहले चुनौती दिँदै आएका छन् । तर पूर्वराष्ट्रपतिजस्तो हैसियत प्राप्त नेतृको पुनरागमनले शक्ति सन्तुलनमा गम्भीर असर पार्न सक्ने देखिएको छ । भण्डारीसँग महिला नेतृहरूको बलियो आधार, पुरानो क्रान्तिकारी छवि र राष्ट्रप्रमुखको पदमा अनुभव छ – जसले उनलाई ओलीको विकल्पका रूपमा स्थापित गराउन सक्ने सम्भावना देखिन्छ ।
एमालेभित्रको एक समूहले भण्डारीलाई मुलधारको नेतृ बनाउने अभियान चलाउन सक्ने संकेत दिइरहेका छन् ।

अर्कोतर्फ, ओली पक्षले भने हालसम्म यसबारे स्पष्ट धारणा दिएको छैन, तर आन्तरिक छलफलमा उनीहरूको चासो र चिन्ता झल्किएको बताइन्छ । ओलीले त पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको नेतृत्व लिने आकांक्षा पालेर राजनीतिमा सक्रिय नबन्न सचेत गराइसकेका छन् । ओलीले भण्डारीलाई सक्रिय नहुन सचेत गराउँदै नेतृत्वको आकांक्षीबाट ब्याक हुन मात्र भनेनन्, फेरि पनि आफैँले पार्टीको नेतृत्व लिने प्रस्ट सन्देश समेत दिए ।

विद्यादेवी भण्डारीको राजनीतिमा सम्भावित फर्किने चर्चा केवल अफवाह मात्र हो कि साँचो तयारी ? यसको स्पष्टता आउँदो दिनमा हुनेछ । तर अहिलेका लागि यो निश्चित देखिन्छ कि उक्त चर्चाले एमाले अध्यक्ष ओलीलाई सचेत र चिन्तित भने पक्कै बनाएको छ ।