images

ईयूको कालोसूचीमा फेरी दोहोरियो नेपाली उड्डयन सेवा

काठमाडौं । युरोपेली युनियन (ईयू) को कालोसूचीमा नेपाली नागरिक उड्डयन सेवा पुनः दोहोरिएको छ ।

पछिल्लो समय ३ जुन २०२५ मा ईयूले कालोसूचीमा रहेका संसारभरिका एयरलाइन्सको सूची अद्यावधिक गरेको छ । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भई सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी समावेश छन् । नेपाल सन् २०१३ देखि ईयूको कालोसूचीमा निरन्तर छ ।

ईयूले यस्तो सूची हरेक ६÷६ महिनामा अद्यावधिक गर्दै आएको छ । यस क्रममा ईयूले तोकेका मापदण्ड पूरा गर्नें वायुसेवा कम्पनीलाई यो सूचीबाट निकाल्ने र थप्ने कामसमेत गर्छ । ईयूका अधिकांश मापदण्ड अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का मापदण्डसँग सम्बन्धित छन् ।

कालोसूचीमा परेका वायुसेवा कम्पनीले ईयूभित्र उडान अनुमति पाउँदैनन् । यसको असर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडान विस्तारमा समेत परेको छ । नेवानिले अहिले युरोपमा उडान अनुमति पाउँदैन । ईयूले कालोसूचीमा राखेका अधिकांश देश र कम्पनी गरिब देशका छन् ।

यसले नेपालको छविसमेत धुमिल बनाइरहेको छ । उता, सरकारले भने हरेकजसो बजेट भाषणमा ईयूको कालोसूचीबाट निस्किन पहल गर्ने बताउँदै आएको छ । तर, निस्किन भने सकेको छैन । चालु र आगामी आर्थिक वर्षको बजेट भाषणमा समेत यो विषय समेटिएको थियो ।

सरकारले ईयूको कालोसूचीबाट हट्ने उद्देश्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउन कानुनी हिसाबमा दुई विधेयक संसद्मा पु¥याएको छ ।