
काठमाडौं । काठमाडौं महानगरपालिका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ । उनी हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक छन् ।
महानगरपालिकाका निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो ।
त्यस्तै कल्पवृक्ष–कोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालिसहितले ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ हानिनोक्सानी गराएको अख्तियारको दाबी छ । अख्तियारले प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गरी/गराई काठमाडौँ महानगरपालिका/सार्वजनिक संस्थाको सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरे/गराएको तथ्य स्थापित भएको भनेको छ ।