images

बालेन अख्तियारको छानबिनमा, महानगरको खर्चमा निजी सल्लाहकारलाई विदेश घुमाएको उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहमाथि पनि छानबिन अघि बढाएको छ ।

उनले विदेश भ्रमणमा जाँदा निजी सल्लाहकारलाई पनि महानगरकै खर्चमा लगेको पाइएपछि अख्तियारले छानबिन अघि बढाएको हो । गत वर्षको जेठमा बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन दुईजना सल्लाहकारसहित फ्रान्स गएका थिए ।

त्यतिखेर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल भ्रमण टोलीमा सहभागी थिए । उक्त टोली जेठ ७ गते नेपाल फर्किएको थियो । सुनील लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रूपमा सहभागी गराएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो । त्यस्तै महानगर प्रमुख बालेन सल्लाहकार सुनील लम्सालका साथमा अर्कोपल्ट ब्राजिल भ्रमणमा गएका थिए ।

यस भ्रमणको खर्च पनि अनियमितरूपमा गरिएको महालेखाले उल्लेख गरेको छ । अख्तियार स्रोतअनुसार, अख्तियारले उनका सल्लाहकारहरूसँग बयान लिइसकेको छ । बालेनसँग पनि सोधपुछ गरेपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा अख्तियारले निर्णय गर्नेछ ।

महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले काठमाडौँ महानगर प्रमुखसहित विभिन्न पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्दा ५२ लाख ५४ रुपैयाँभन्दा बढी अनियमित रूपमा खर्च गरेको औँल्याएको छ । त्यसमध्ये ३२ लाख ७९ हजार रूपैयाँबराबरको अनियमित खर्च बालेन र उनका सल्लाहकारका नाममा भएको भेटिएको बताइएको छ ।