images

नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाली टिमले वेस्ट इन्डिजसँग तीन खेल खेल्ने जानकारी दिएको हो । खेल युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट रंगशालामा आगामी सेप्टेम्बरमा हुनेछ ।

तालिकाअनुसार नेपालले सेप्टेम्बर २७ मा पहिलो, २८ मा दोस्रो र ३० मा तेस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ । नेपाली क्रिकेटको इतिहासमा टेस्ट टोलीसँग हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० शृंखला हो । यसैबीच, क्रिकेट वेस्ट इन्डिज (सीडब्लुआई)ले नेपालसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने घोषणामा खुसी व्यक्त गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा दुई देशले पहिलो शृंखला खेल्ने तय भएको हो ।

यसले नेपाललाई यही वर्षको अन्त्यमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटका लागि महत्त्वपूर्ण मद्दत गर्ने सीडब्लुआईले उल्लेख गरेको छ ।

सीडब्लुआईले विश्वका उदाउँदा क्रिकेट टोलीलाई सघाउने बलियो प्रतिबद्धतास्वरुप यो खेल हुनलागेको उल्लेख गरेको छ । नेपालसँगको खेललाई सीडब्लुआईले एउटा अन्तर्राष्ट्रिय खेलभन्दा धेरै महत्त्वपूर्ण रहेको बताएको छ । नेपालसँग खेल्न प्रतिस्पर्धी खेल टोली पठाउने बताउँदै सीडब्लुआईले यसलाई नेपालले पाउने एक्सपोजर भनेको छ ।