
काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार पनि स्थगित भएको छ ।
विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । उनका अनुसार अब अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेको छ । सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रुपमा संसद् चल्नेछ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि आज पनि संसद् बैठक नचल्ने भएको थियो ।
भिजिट भिसा प्रकरणमा अध्ययन तथा छानबिन भन्ने शब्द राखेर दुई बुँदे मस्यौदा अघि बढ्ने भएको छ । प्रचण्डले सत्तारुढ दलका नेताहरूसँग लिखित प्रतिबद्धता हुनेगरी अघि बढ्ने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव अनुसार करिब सहमति जुटेको प्रचण्डले बताएका छन् ।