
काठमाडौं । भारतीय आकाशमा बिहीबार एउटा दुःखद् विमान दुर्घटना हुन पुग्यो । गुजरातको अहमदाबादस्थित सरदार बल्लभभाइ पटेल विमानस्थलमा एयर इण्डियाको बोइङ–७८७–८ ड्रिमलाइनर विमान दुर्घटनाग्रस्त भएको हो ।
एयर इन्डियाको फ्लाइट नम्बर एआई–१७१ दिउँसो १ बजेर ४० मिनेटमा दुर्घटनाग्रस्त भएको हो । विमानस्थलको पर्खाल र एयर कस्टम कार्गो अफिसको छेउमा विमान खसेको थियो । विमान खस्दै गर्दा आगो र धुँवाको मुस्लो देखिएको थियो ।
यो विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २४२ जना यात्रु सवार थिए । रुपाणीले नरेन्द्र मोदीभन्दा पछि मुख्यमन्त्री बनेकी आनन्दी बेन पटेलको मन्त्रिपरिषद्मा यातायात र श्रम तथा रोजगारसहितका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । आनन्दीबेन पछि गुजरातको मुख्यमन्त्री बनेका रुपाणी ५ वर्ष ३७ दिन यो पदमा रहेर काम गरे । भारतीय जनता पार्टी (भाजपा) नेता रुपाणी लण्डनमा रहेकी आफ्नी छोरीलाई भेट्न जान लागेका थिए । तर उनी विमान दुर्घटनामा परेका छन् ।
भाजपा राज्यसभा सांसद परिमल नाथवानीले रुपाणीको निधन भएको जानकारी एक्समार्फत दिएका छन् । दुर्घटनास्थलबाट धेरैको शव नजिकैको अस्पतालमा लगिएको थियो भने केहीलाई गम्भीर अवस्थामा अस्पताल पु¥याइएको थियो । यो सामग्री तयार पार्दासम्म दुर्घटनामा मारिएकाबारे अधिकारीहरूले केही बताएका छैनन् । तर विमान दुर्घटनामा परेकाहरूमध्ये अधिकांशको जीवितै उद्दार गर्न नसकिएको बताइएको छ ।
दुर्घटनामा परेको यो विमानमा १६९ जना भारतीय, ५२ जना ब्रिटिस, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा पाइलट, को–पाइलट, १० जना चालक दलका सदस्य र २३० जना यात्रु थिए । यी यात्रुमध्ये २ जना नाबालक रहेको बताइएको छ । विमान क्याप्टेन सुमित सब्बरवालले उडाएका थिए । उनीसँग फस्ट अफिसर क्लाइभ कुन्दर थिए । सुमित सब्बरवाल एक एलटीसी अर्थात् लाइट ट्रेनिङ क्याप्टेन थिए । सुमितसँग ८ हजार २ सय घन्टा उडानको अनुभव थियो र उनी अन्य पाइलटलाई समेत तालिम दिने अनुभवी पाइलट थिए । को–पाइलट पनि ११ सय घन्टाभन्दा बढी विमान उडाइसकेका अनुभवी पाइलट थिए ।
यो विमान उडान भरेलगत्तै विमानस्थलको छेउमै जुन भवनमा खस्यो त्यो अहमदाबाद सिभिल अस्पतालका डाक्टर बस्ने भवन भएको थाहा भएको छ । दुर्घटनाका समयमा सो भवनमा ५०–६० जना डाक्टर रहेको बताइएको छ । बोइङ ७८७–८ ड्रिमलाइनर विमान अमेरिकी बोइङ कम्पनीद्वारा निर्मित विमान हो । यसमा दुईवटा इन्जिन हुने गर्छन् । तर यो विमान इन्जिनको प्राविधिक समस्याका कारण दुर्घटना भएको बताइएको छ । जबकि विमान उडानअघि यसका सबै प्राविधिक पक्षको जाँच गरिएको हुन्छ । त्यसकारण विमान दुर्घटनालाई लिएर अर्काे संशय खडा भएको छ । दुर्घटनाअघि पाइलट सुमित सब्बरवालले मे–डे कल गरेका थिए । यो अन्तर्राष्ट्रिय आपतकालीन कल हो । जब विमान गम्भीर संकटमा पुग्छ र सबैको ज्यान जोखिममा हुन्छ, त्यसबेला आपतकालीन कल गरिन्छ । फ्रेन्च भाषाको यो मे–डेको अर्थ हुन्छ– हेल्प मि’ अर्थात् सहयोग गर्नुहोस् ।
अहमदाबाद विमानस्थलमा विमान दुर्घटना भएपछि एयर इन्डिया र यसको मातृ कम्पनी टाटा ग्रुपले वक्तव्य जारी गरेर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुर्घटनापछि एयर इन्डियाले एक्सको प्रोफाइलमा कालो फोटो राखेको छ । विमान दुर्घटनालगत्तै घटनाबारे जाँच सुरु भएको छ । एयर इन्डिया टाटा ग्रुपको कम्पनी हो । यसको अध्यक्ष हाल एन चन्द्र शेखरन छन् ।
भारतको आकाश पनि विमान दुर्घटनाका हिसाबले धेरै सुरक्षित देखिँदैन । अहमदाबादमा भने ३७ वर्षपछि भएको यो पहिलो विमान दुर्घटना हो । यसअघि सन् १९८८ मा इन्डियन एयरलाइन्सको विमान मुम्बईबाट अहमदाबाद जाँदै गर्दा दुर्घटना भएको थियो । जुन दुर्घटनामा १३३ जना यात्रुको मृत्यु भएको थियो । भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो विमान दुर्घटना भने १२ नोभेम्बर, १९९६ मा भएको थियो । जतिबेला हरियाणाको चर्खी दादरी नजिकै दुईवटा विमान एकआपसमा ठोक्किँदा दुई विमानमा सवार ३४९ जनाको मृत्यु भएको थियो ।