
काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् ।
पति मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको बृहत् कार्यक्रममार्फत उनले आफू पुनः एमालेको राजनीतिमा फर्किएको उद्घोष गरिन् ।
राष्ट्रपति पदबाट बिदा भएलगत्तै यसअघिदेखि नै एमाले नेता–कार्यकर्तालाई भेट्न देशदौडाहा गरिरहेकी भण्डारीले आफू औपचारिक रूपमा पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । उनले आफ्नो कुनै ठूलो महत्वकांक्षा नरहेको जिकिर गरेकी छन् ।
विद्या एमाले अध्यक्ष नै बन्ने चर्चा भइरहेको छ तर प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने त्यसको खण्डन गर्छन् । प्रधानमन्त्री ओलीले एमाले महाधिवेशन आउनु भन्दा अगाडिदेखि नै केही स्वार्थ केन्द्रित तत्वलाई महाधिवेशन लागिरहेको भन्दै कटाक्ष पनि गरेका छन् ।
२०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी भण्डारी २०७४ फागुन २९ मा लगातार दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चुनिइन् । २०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यालय (शीतलनिवास) बाट बाहिरिएकी उनी फेरि पार्टी राजनीतिमा फर्किएकी हुन् । राष्ट्रपति हुनुअघि विद्या एमालेमा उपाध्यक्ष थिइन् ।