
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् ।
शनिवार साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो । प्रधानमन्त्री ओली असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिने छन् ।
दिउँसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवं अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका थिए । प्रतिनिधि सभाको शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् । भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ ।
असार १९ गते स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको जनाइएको छ । असार २० गते दिउसो पौने ५ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका छ ।