
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्दैछ ।
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा हुने खेल आइतबार साँझ सवा ६ बजे सुरु हुनेछ । यो खेल नेपालका लागि एसियन कप छनोटको पहिलो खेल मात्रै हैन एक सयौँ अन्तर्राष्ट्रिय खेलसमेत हो । नेपाली टोली लाओसलाई पराजित गर्दै एसियन कप छनोटमा सुखद सुरुवात गर्न चाहन्छ ।
नेपाल र लाओस पहिलो पटक भेट हुन लागेका हुन् । समूह चरणको दोस्रो खेलमा नेपालले १८ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । यही असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ । उज्वेकिस्तानसँगको तीन भेटमा नेपाल अहिलेसम्म सबै खेलमा हार बेहोरेको छ ।
श्रीलंकासँग भने आठ खेल खेल्दा सबैमा नेपाल विजयी भएको छ । नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ ।
यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ । अहिलेसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन् । कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन् ।