
बिराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं ५ की ७ वर्षीय नाबालिकाको हत्या प्रकरणमा प्रहरीले काकाविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ।
प्रहरीले मृतक नाबालिकाका मावलीपट्टिका काका अनिश सरदार विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको हो।
मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालकाअनुसार पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। प्रहरीले सोधपुछका क्रममा अनिसले घटना भएको दिन मदिरा सेवन गरेको स्वीकार गरेका छन् तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
डीएसपी चुडालका अनुसार विभिन्न मेडिकल रिपोर्ट र प्रमाणको आधारमा अनुसन्धानबाट वास्तविकता खुल्ने विश्वास गरिएको छ। जुन प्रमाणसहित पुष्टि गर्नुपर्ने हुन्छ ।
नाबालिकाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाबारे थप जानकारी खुल्ने प्रहरीको विश्वास छ।
मृतक बालिकालाई हजुरआमाको जिम्मा लगाएर उनका आमाबुवा आफन्त कहाँ गएको समयमा बालिका हराएकी थिइन्। शनिबार बिहान उनको शव घर नजिकै फेला परेको थियो।
घटनापछि मृतक बालिकाका आफन्त स्तब्ध भएका छन् । पीडित परिवारका एक सदस्य अमृता कुमारी चौधरीले गाउँभर त्रास फैलिएको जानकारी दिईन् । “घटना अत्यन्त दर्दनाक छ। निष्पक्ष अनुसन्धान होस् र दोषीलाई कानुनी कारबाही होस् भन्ने हाम्रो चाहना हो। उनले भनिन्”
प्रहरीले प्राप्त प्रमाण, अनुसन्धानको निष्कर्ष र मेडिकल रिपोर्टको आधारमा अनिषविरुद्ध मुद्दा अघि बढाउने तयारी गरेको छ।