images
images

२६ वर्षपछि महिला एसियन कपमा इतिहास रच्ने अवसर, जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । उज्वेकिस्तानको तासकेन्दमा चलिरहेको एएफसी वुमेन्स एसियाकप छनोट रोमाञ्चक र सनसनीपूर्ण मोडमा पुगेको छ ।

समूह एफमा नेपाल र आयोजक देश उज्वेकिस्तान ठ्याक्कै समान स्थितिमा छन् । नेपाल एसिसी महिला एसियन कप फुटबल खेल्ने सपनाबाट एक खेल टाढा उभिएको छ ।

एसिसी महिला एसियन कप छनोट–२०२६ अन्तर्गत समूह एफमा लगातार दुई जित निकालेको नेपाललाई छनोट चरण पार गर्न अब उज्वेकिस्तानलाई हराउने चुनौती छ । यो प्रतिष्ठाको खेल मात्रै हुनेछ । सबैको ध्यान खिच्ने खेल भनेको नेपाल र उज्वेकिस्तानबीचको खेल नै रहनेछ ।

नेपाल र उज्वेकिस्तानले समान १७–१७ गोल गरेका छन् भने दुवैले अहिलेसम्म कुनै गोल पनि खाएको छैन् । यी दुई टिमबीचको खेलमा जुन टिम जित्नेछ, त्यही टिम अर्को वर्ष अस्ट्रेलियामा हुने वुमेन्स एसियाकपका लागि छनोट हुनेछ ।

यो खेल बराबरीमा रहेको स्थितिमा भने प्रतियोगिताको नियम अनुसार अन्य सबै स्थिति बराबर रहेको अवस्थामा यो प्रतिस्पर्धा सिधै टाइब्रेकर चल्नेछ । घरेलु टोली उज्वेकिस्तान पनि समूहमा लगातार दुई जित निकाल्दै अन्तिम खेलमा नेपाललाई बलियो टक्कर दिने तयारीमा छ । अहिले समूहमा नेपाल र उज्जेकिस्तानको समान ६-६ अङ्क छ । दुवैको गोलअन्तर पनि बराबर छ । अब नेपाल र उज्वेकिस्तानबिचको अन्तिम खेलले एसियन कप खेल्ने टोलीको निक्र्योल गर्ने छ ।

लाओस र श्रीलङ्का भने एक खेल अगावै छनोटबाट बाहिरिएका छन् । नेपाल र उज्बेकिस्तान दुवै समूह विजेता बन्दै अष्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने अभियानमा छन् । तर त्यसमा एउटा टिम मात्र सफल हुनेछ । त्यसैले यो खेल रोमाञ्चक, प्रतिस्पर्धात्मक र हेर्नलायक पनि हुनेछ । किनभने यसअघि दुवैले तुलनात्मक रुपमा पनि कमजोर टिमलाई पराजित गरेकोले असली खेल अब देखिने छ । फिफा वरियतामा उज्बकिस्तान नेपाल भन्दा ४९ स्थान माथि भएपनि अहिलेको प्रदर्शन हेर्दा उस्तै किसिमको देखिएको छ । उज्बेकिस्तान ५१औं र नेपाल १००औं वरियतामा छ ।

महिला फुटबलमा नेपालभन्दा उज्बेकिस्तान नै बलियो टोलीको रुपमा देखिँदै आएको छ । यसअघिको नतिजाले पनि त्यो पुष्टि गर्छ । अहिलेसम्म यी दुई टोलीले एकआपसमा तीन पटक खेलेका छन् । जसमा सबै तीन खेल उज्बेकिस्तानले नै जितेको छ ।

पहिलो भेट सन् १९९९ को महिला एसियन कपमै भएको थियो । फिलिपिन्समा भएको एसियन कपको समूह चरणमा उज्बेकिस्तानले नेपाललाई ६–१ ले पराजित गरेको थियो । त्यो खेल हारेपनि नेपालका लागि एक कारणले भने सम्झनलायक बन्यो । त्यही खेलमा गरेको गोल नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय खेलमा गरेको पहिलो गोल बन्यो । उक्त ऐतिहासिक गोल गर्ने खेलाडी थिइन् पेमा डोल्मा लामा । त्यसपछि लामो समयमसम्म यी दुई टिम भेट भएन् । सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले फेरि उज्बेकिस्तानसँग खेल्यो । जहाँ यी दुई टोलीबीच दुई खेल भएको थियो । तर दुवै खेलमा उज्बेकिस्तानले नै जितेको छ । लिग चरणमा उज्वेकिस्तानले २–० को जित हात पारेको थियो ।

यिनै दुई टोली फाइनल पनि पुगेका थिए र प्रतिस्पर्धात्मक खेलमा उज्बेकिस्तान ३–२ ले विजयी भयो । त्यस खेलमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । हाल उनी नेपाली टिमको कप्तानको भूमिकामा पनि छिन् र सर्वाधिक गोलकर्ता समेत हुन् । उनी सामु पनि आप्नै कप्तानीमा उज्बेकिस्तानलाई हराएर नेपाललाई एसिया कपमा छनोट गराउने अवसर हुने छ । महत्वपूर्ण मानिएको उज्बेकिस्तानविरुद्धको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्दै २६ वर्षपछि महिला एसियन कपमा पुग्ने छ ।

यसको अर्थ एसियन कप खेल्नु मात्र हुने छैन फिफा महिला विश्वकप र २०२८ को ओलम्पिकको छनोट यात्रामा समेत पुग्ने छ । एसियन कपमा पुग्दा तीन प्रतियोगिताको लागि अवसरको ढोका खुल्ने छ । महिला एसियन कपमा एसियाका उत्कृष्ट १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपालले बलिया टोलीसँग खेल्दै अझै धेरै एक्सपोजर लिने अवसर पनि पाउने छ ।

यस्तै सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधार पनि महिला एसियन कपनै रहेकोले नेपालको मिसन विश्वकपमा यो पहिलो खुड्किलो समेत हुन सक्छ ।

एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टिमले फिफा महिला विश्वकपमा स्थान बनाउनेछ अहिले छनोट हुन नसकेमा नेपाली महिला फुटबलले सन् २०३० को एसियन कप अघि कुनै ठूलो प्रतियोगिता खेल्न पाउने छैन ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS