
काठमाडौं । निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।
राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ ।
सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके व्यापारीहरु बताउछन् । दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आएका पदमबहादुर पोखरेलले विगत पाँच÷सातबर्षदेखि धुलो धुवाँको प्रदुषण झेल्नुपरेको गुनासो गर्छन । उनकाअनुसार बाटोले गर्दा ब्यापार चौपट छ ।
व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताउछन । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहेपनि तिब्र हुन नसक्नुमा व्यवसायीको आ–आफ्नै समस्या रहेको जिकिर गर्छन । निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषि रहेको उनको दाबी छ ।
उनका अनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम दु्रत बनाउने बातावरण बनाइदिनुपर्छ । तर निर्माण व्यवसायीले राज्यलाई दोष दिदै आफुले सम्पन्न गर्नुपर्ने काम नगर्ने रोग पुरानै हो । निर्माण व्यवसायीका समस्या समाधान गर्ने नाममा कैयौ पटक सार्वजनिक खरिद ऐन संसोधन भए पनि निर्माण क्षेत्रले गति भने लिएको छैन ।