images
images

बुढावाँडाबासीको सक्रियताः ५५ लाख संकलन गरेर ६ किलोमिटर सडक निर्माण

अछाम । अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं.१३ स्थित बुढावाँडा टोलका बासिन्दाले सरकारी बेवास्ता र झुट्टा आश्वासनको विरुद्धमा आफैं जुटेर सडक निर्माण गरेका छन्।

स्थानीयको आर्थिक, भौतिक सहयोग र श्रमदानमा आधारित यो परियोजनाले बुढावाँडालाई अन्ततः सडक संजालसँग जोड्न सफल बनाएको छ।

विगतमा पटक–पटक संघीय, प्रदेश र स्थानीय सरकार समक्ष सडकका लागि बजेट माग गर्दा पनि राजनीतिक नेताहरूको आश्वासन र सहानुभूतिभन्दा बढी केही प्राप्त नभएको भन्दै, स्थानीयहरूले आफ्नै पहलमा झन्डै ५५ लाख रुपैयाँ नगद संकलन गरी ६ किलोमिटर लामो सडक निर्माण सम्पन्न गरेका हुन्।

बुढावाँडा, बोक्सा, ताउलीपिपल र बान्नि जस्ता टोलहरू वर्षौंदेखि सडक सुविधाबाट वञ्चित थिए। चुनावको समयमा विभिन्न उम्मेदवारहरू आएर उद्घाटन समारोह र भाषण मात्र गरेर फर्किने गरेका थिए, तर तिनीहरूद्वारा उद्घाटन गरिएका सडकहरू निर्माणकै चरणमा अलपत्र परेका थिए।

सरकारको मुख ताकिरहने बेला अब सकियो भन्ने मनसायसहित टोलबासीहरू एकजुट भएर सडक निर्माणमा जुटेको बन उपभोक्ता समितिका अध्यक्ष झनकराज ढुंगानाले बताए । आमा समूह, सामुदायिक वन उपभोक्ता समिति, स्थानिय कोष, सामाजिक संस्था लगायतका निकायबाट रकम संकलन गरी, बाडा–बुढासैन सडक खण्डसम्म जोडिने गरी करिब ६ किलोमिटर लम्बाइको सडक निर्माण गरिएको हो ।

सडक निर्माणका लागि आवश्यक सम्पूर्ण योजना, सामग्री व्यवस्थापन, निर्माण सुपरिवेक्षण तथा श्रम पुर्‍याउने कार्य स्थानीयबासीहरूले नै गरेका हुन्। यस अभियानमा पुरुष मात्र होइन, महिलाहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। सबै मिलेर आफू बसेको बस्तीमा परिवर्तन ल्याउने सोचले काम गर्दा बुढावाँडाले साँच्चिकै ुजनताद्वारा, जनताकै लागि बनाइएको सडकु पाएको अध्यक्ष ढुंगाना बताउँछन् ।

बुढावाँडाको यो प्रयासले यदि राजनीतिक नेताहरूको प्रतिवद्धता फितलो भए पनि जनताको इच्छाशक्ति बलियो छ भने पनि विकास सम्भव छ भन्ने कुरा देखाईदिएको छ । स्थानीय बासिन्दाहरूको एकता, दृढता र प्रतिबद्धताले बनेको यो सडक अब स्वास्थ्य, शिक्षा, व्यापार तथा कृषि उत्पादनको पहुँच विस्तारमा महत्वपूर्ण भुमिका खेल्नेछ।

बुढावाँडाको यो सडक निर्माण सरकारी योजनाको पर्खाइमा वर्षौं बिताउने भन्दा स्रोतसाधनको खोज र स्थानीय परिचालनबाटै विकास सम्भव छ भन्ने उदाहरण बनेको त्यहाँका स्थानीय एवं शिक्षक टेकराज ढुंगाना बताउँछन् ।यसले मंगलसेन नगरपालिका भित्रका अन्य पिछडिएका टोल र वडाहरूलाई पनि सक्रिय बन्न प्रेरणा दिने बुढावाँडाबासीको विश्वास छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS