images
images

काण्डै काण्डैको ओली सरकारः सुशासनको नाममा बदनामीको यात्रा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्दा–गर्दै सरकार काम भन्दा काण्डमा डुबेको छ ।

‘सुशासन, समृद्धि र स्थायित्व’ को नारासहित बनेको सरकार अहिले भ्रष्टाचार, सत्ता दुरुपयोग र असफलताको पर्याय बनेको हो । सरकारका मन्त्रीहरूको घिनलाग्दो अनुशासनहीनता र घुसप्रेमले मुलुक नै नैराश्यमा डुबेको छ । हेरौ काण्डै काण्डको फेहरिस्तः

काण्ड नम्बर १ – ७८ लाखको घुस डिल
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा राजकुमार गुप्ताको ७८ लाखको घुस डिल अडियो सार्वजनिक भयो । यो प्रकरणपछि सरकार एकपटक फेरि हल्लिएको मात्रै छैन, गुप्ता सिंहदरवारबाट नाङ्ेझार भएर निस्किएका छन् । गुप्ताले राजीनामा दिए पनि उक्त प्रकरणमा नाम जोडिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई भने लाजै छैन् । मान प्रतिष्ठालाई बागमतीमै बगाएका अधिकारी पदमै टाँस्सिएका छन् । अधिकारीको घुस डिल वाला अडियोसमेत सार्वजनिक भएको छ ।

काण्ड नम्बर २ – भिजिट भिसामा मानव तस्करी
हालका गृहमन्त्री रमेश लेखक नै मानव तस्करी जस्तो गम्भीर प्रकरणमा मुछिएका छन् । भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणले सरकारको अन्तर्राष्ट्रिय छवि नै ध्वस्त बनाएको छ । गृहमन्त्रीमाथि संसदमै राजीनाको माग भइरहँदा उनी पदमै बसेका छन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आडभरोसा पाएका लेखक टसमस भएका छैनन् ।

काण्ड नम्बर ३ – मन्त्रालयकै गाडी हराएको हल्ला
श्रममन्त्री शरतसिंह भण्डारीमाथि मन्त्रालयकै गाडी हराएर आफ्नै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चढाएको आरोप लाग्यो । गाडी हराएको विषयमा गृह मन्त्रालयलाई पत्राचार गर्दै प्रहरी प्रशासनलाई नै अलमलमा पारिएको तथ्य बाहिरिएको छ । सरकारी सम्पत्तिको व्यक्तिगत दुरुपयोगको यस्तो निर्लज्ज उदाहरणले सरकारको चरित्र कस्तो छ भन्ने स्पष्ट पार्छ ।

काण्ड नम्बर ४ – बजेटमा प्रकाशमानको मनपरी
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि बजेटमा अनियमित योजना बाँडफाँड गरेको र अर्थमन्त्रीलाई दबाब दिएको आरोप लाग्यो । त्यसैगरी, कानुनमन्त्री अजय चौरसिया न्यायालयमै हस्तक्षेप गरेको आरोपमा तानिए । सांसदहरूले आफताब आलमको मुद्दामा चलखेल गरेको भन्दै संसदमा कडा प्रश्न उठाए । तर, अनुसन्धान कहिल्यै अगाडि बढेन ।

काण्ड नम्बर ५ – खेलकुदमन्त्रीको खेलोमेलो
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राखेपमा आफ्नै स्कुलका प्रिन्सिपललाई नियुक्त गरेको, बोर्डमा मनपरी गरेको र सचिवमाथि दवाब दिएको आरोप खेपिरहेका छन् ।

यी मात्र होइन यो सरकार बनेपछि यस्ता दर्जनौ काण्डहरु मच्चिएका छन् । काण्ड मच्चाउन मात्र जानेको सरकारले बाहिर आएका काण्डको अनुसन्धान त परको कुरा भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणलगायत दर्जनौ काण्डको अनुसन्धान फाइल नै बन्द गरेको छ । यही कारण सर्वसाधारणहरुमा सरकारप्रति आशा कम निराशा ज्यादा देखिन्छ ।

एक वर्षमै तीन मन्त्रीले सिंहदरवार छोडेका छन् । शिक्षा मन्त्री विद्या भट्टराई, ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, र पछिल्लो घुसकाण्डपछि राजीनामा दिएका सामान्य प्रशासनमन्त्री गुप्ता । तर बाँकी काण्डमा मुछिएका मन्त्रीहरू अझै पदमा टाँस्सिएका छन् । कांग्रेस–एमालेको सहमति र साना दलहरूको समर्थनमा बनेको ओली सरकार आज सत्ताको चरम दुरुपयोग, अकर्मण्यता र बदनामीको साँचो उदाहरण बनेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS