
काठमाडौं । साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन् ।
उनी शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन् । उनका पिता अनन्त शाक्य, आमा प्रतिष्ठा शाक्य र बहिनी परमिता शाक्य हुन् ।
आर्यतारा मंगलबार, अष्टमीका दिन ऐतिहासिक कुमारी घर, काठमाडौंमा औपचारिक रूपमा पूजनीय भएकी छिन् ।
आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन् । तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्परा अनुसार समाप्त भएको हो ।
कुमारीकाल समाप्त भएपछि उनलाई बाजा गाजा सहित विशेष पूजापाठ गरेर घरसम्म पु¥याईयो र परम्परागत रीति अनुसार बिदाइ गरियो ।
कुमारीलाई हिन्दू देवी तलेजुको जीवित अवतार मानिन्छ । उनको चयन प्रक्रिया प्राचीन तान्त्रिक विधि र ज्योतिषीय मूल्याङ्कनमा आधारित हुन्छ । यसमा पञ्चाङ्ग समिति, तलेजुका मूल पुजारी, गुठीका प्रतिनिधि र ज्योतिषी संलग्न हुन्छन् । राजकीय कुमारी शाक्य कुलकै हुनुपर्छ र आमा–बुवा दुवै जना काठमाडौंका स्थानीय शाक्य समुदायका हुनुपर्छ । नवनियुक्त कुमारीमा शारीरिक र धार्मिक गुणलाई विशेष महत्व दिइन्छ ।
आर्यताराको नियुक्तिले नेपालमै अद्वितीय शताब्दीपुरानो परम्परालाई निरन्तरता दिएको छ । राजकीय जीवित देवी कुमारीलाई हिन्दू तथा बौद्ध दुवैले पूजा गर्छन् र उनी राष्ट्रिय सांस्कृतिक तथा धार्मिक जीवनमा महत्वपूर्ण प्रतीकात्मक भूमिकामा रहन्छिन् । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।