images

श्रद्धा र भक्ति भावसहित मनाइँदै महाष्टमी पर्व

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैँको महाअष्टमी पर्व नेपालभर श्रद्धा र भक्ति भावसहित मनाइँदैछ ।

धार्मिक परम्पराअनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ । भक्तजनहरूले माता गौरीको आराधना गर्दै परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्ने गर्दछन् ।

जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा पनि मंगलवार बिहानैबाट भक्तजनहरूको घुइँचो लागेको छ । पूजाअर्चना गरी प्रसाद चढाउने तथा महिलाहरूले खोइछ भर्ने क्रम जारी छ ।

घरपरिवारसहित आएका श्रद्धालुहरू दर्शन, आरती र चढावा अर्पण गर्न लाइनमा उभिएका छन् । महाअष्टमीको विशेष दिनमा बलि चढाउने परम्परा पनि प्रचलित छ ।

राजदेवी मन्दिर परिसरमा आज राति ८ बजेपछि बलि प्रदान गरिने महावीर युवा कमिटीले जनाएको छ । कमिटीकाअनुसार बलिप्रदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ भने भक्तजनहरूको सुरक्षासहित व्यवस्थापनमा स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ ।

महाअष्टमीलाई दुर्गा पूजाको सर्वाधिक महत्वपूर्ण दिनमध्ये एक मानिन्छ । देवीलाई शक्तिको प्रतीकका रूपमा आराधना गर्दा जीवनबाट दुःख–दरिद्र हट्ने विश्वास राखिन्छ । जनकपुरधाम मात्र नभई देशभरका शक्तिपीठहरूमा आज विशेष पूजा, आरती र बलि कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।