images

आज महानवमी पर्व, माता सिद्धिदात्रीको पूजाआराधना गरिँदै

काठमाडौं । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै छ ।

दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो ।

सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । सिद्धिदात्रीलाई सबै प्रकारका सिद्धि र विजयकी प्रतीक मानिन्छ । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ । यही विश्वासका साथ आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्री देवीको पूजा गर्नेहरुको भिडभाड छ ।

काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगतवी, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती गुहृयेश्वरी, महांकाल, लगायत शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरिएको छ । यो क्रम आजसम्म जारी रहन्छ । आज रातिबाट नवरात्र सकिएसँगै भोलि विहीबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष पनि विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसादको रुपमा टीका र जमरा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ ।

यसैगरी, नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको हो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो ।

चौथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो । यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा शनिबार स्कन्दमाताको पूजाआराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन आइतबार कात्यायनी देवी, आश्विन शुक्ल सप्तमीका दिन सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । यसै दिन दसैँघर वा पूजाकोठामा फूलपाती पनि भित्र्याइएको थियो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ ।