images

सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपति पुनमाथि अनुसन्धान

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताएका छन् । दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो ।

सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो । पुन दुई कार्यकाल उपराष्ट्रपति छँदा स्वकीय सचिव रहेका जितेन्द्र हाल अमेरिकामा रहेको पारिवारिक स्रोत बताउँछ । पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सुन तस्करी प्रकरणमा गठन गरिएको जाँचबुझ आयोगले दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो ।