images

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई, देउवा राजनीतिबाट बिदा भएका हुन् त ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफ्नो सक्रिय भूमिकाको अन्त्य भएको सन्देश दिएका छन् । उनको यो निर्णय सँगै केही प्रश्नहरू भने उठेका छन् । के देउवा साँच्चै राजनीतिबाट बिदा भए ? कांग्रेसको भविष्य अब कसको काँधमा ?
मङ्गलवारको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै देउवाले आगामी १५ औँ महाधिवेशनपछि आफू उम्मेदवार नहुने घोषणा समेत गरे । यो घोषणासँगै लामो समयदेखि चलिरहेको अनुमानले पूर्णविराम पाएको छ । १५औँ महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिने छैन । प्राविधिक रूपमा सभापतिमा उनी आफैँ हुने भए पनि अब फेरि पार्टीको कार्यकारी भूमिकामा उनी देखिने छैनन् । यो घोषणाले काङ्ग्रेसभित्र एउटा नयाँ अध्यायको सुरुवात भएको सङ्केत गर्छ ।
देउवाको यो घोषणालाई धेरैले जेन–जी आन्दोलनको उपजका रूपमा हेरेका छन् । नेपाली राजनीतिमा युवाहरूको सशक्त उपस्थिति र राजनीतिक बेथितिविरुद्धको आक्रोशले देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एकै चोटि पाखा लगाइसकेको छ । यदि जेन–जी आन्दोलनले यो परिस्थिति निर्माण नगरेको भए देउवा एमाले–कांग्रेस समीकरणको सहमति अनुसार २०८३ असारमा आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने दाउमा थिए ।
के देउवा साँच्चै राजनीतिबाट बिदा भएका हुन कि होइनन् भन्ने विषय सबैको चासो विषय बनेको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताउँछन् । सभापति शेर बहादुर देउवा अव पार्टीको नेतृत्वबाट सधैँका लागि बिदा भएका हुन् भन्ने प्रश्नमा प्रवक्ता महत भन्छन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले अगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरूले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाउने गरेकोमा आपत्ति समेत जनाए ।  लोकतन्त्र, संविधान र पार्टीमाथि आक्रमण भएको बेला नेतृत्व परिवर्तनको बहसले पार्टी एकतालाई नै कमजोर बनाउने उनको भनाइ छ ।
पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिए पनि, कांग्रेसको बागडोर अब कसले सम्हाल्छ र पार्टीलाई कुन दिशामा अगाडि बढाउँछ भन्ने प्रश्न महत्त्वपूर्ण छ । युवा नेताहरूले नेतृत्वमा आउन देखाएको सक्रियता र दबाबले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । शेरबहादुर देउवाको कार्यकारी भूमिकाबाट बहिर्गमनसँगै नेपाली राजनीतिले एउटा महत्त्वपूर्ण मोड लिएको छ ।
यस्तै, कार्यकारी भूमिकाबाट देउवाले बिदाइ लिए पनि उनका वरपर रहेका व्यक्तिहरुका कारण विधानले तोकिएको समयभित्रै महाधिवेशन हुने कि नहुनेमा भन्नेमा आशङ्का भने कायमै रहेको संस्थापन इतर पक्षका नेता अर्जुननरसिंह केसी  बताउँछन् । मङ्सिरभित्र नियमित महाधिवेशन हुने अवस्था बनेन भने त्यही समयमै विशेष महाधिवेशन बोलाउनुपर्ने उनको धारणा छ ।
जेन–जी आन्दोलनपछि देउवाले १५औँ महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने सुरक्षित बाटो लिने प्रयास गरेका थिए । तर, पार्टीभित्र तत्काल नेतृत्वबाट हट्न उनीमाथि चर्को दबाब पनि थियो । कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले भदौ २३ र २४ अगाडिको स्थिति र त्यसपछिको स्थिति एउटै नभएको भन्दै सार्वजनिक रूपमै नेतृत्वबाट अलग हुन आह्वान गरेका गरिसकेका थिए । विशेष महाधिवेशनका लागि ५२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत गराए । आम कार्यकर्ताको भावना पनि देउवाले तत्काल बहिर्गमनको बाटो रोज्नुपर्नेमा देखियो। यी सबै दबाबका कारण देउवा आजको स्थितिमा आइपुगेका हुन् ।
६० वर्ष लामो सक्रिय राजनीतिक जीवन बोकेका शेरबहादुर देउवाको यात्रा उतारचढावले भरिएको छ । कांग्रेस विभाजित हुँदा तत्कालीन प्रजातान्त्रिक कांग्रेसका सभापति भएका देउवा पार्टी एकीकरणपछि १० वर्षसम्म सभापति भए । तत्कालीन माओवादी जनयुद्ध नियन्त्रणका लागि २०५८ मङ्सिरमा आफ्नै नेतृत्वको सरकारले लगाएको सङ्कटकाल बढाउने कि नबढाउने भन्नेमा पार्टीभित्र तीव्र विवाद बढेपछि देउवाले २०५९ जेठमा पार्टी विभाजित गरेका थिए। त्यसपछि २०६४ असोजमा एकीकरण गरे । एकीकरणपछि भएको १२औँ महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका देउवा त्यसपछि १३ र १४औँ महाधिवेशनमा सभापति निर्वाचित भए । उनी २०६२/०६३ को जनआन्दोलनअघिको व्यवस्थामा तीन पटक र त्यसपछिको गणतान्त्रिक व्यवस्थामा दुई पटक गरेर पाँच पटकसम्म प्रधानमन्त्री बन्न पुगेका थिए ।
सत्ताका खेलाडीको पहिचान बनाएका देउवामाथि सुशासन कायम गर्न नसकेको र राजनीतिमा बेथिति भित्र्याएको आरोप लाग्दै आएका छन् । पाँच पटक प्रधानमन्त्री भएर पनि देउवाले मुलुकलाई के गरे भन्ने आम प्रश्न जेन–जी आन्दोलनभन्दा अगाडिदेखि नै उठ्ने गरेको थियो । तर, देउवाले आफू सक्रिय राजनीतिबाट बहिर्गमन हुनै लाग्दा यी सबै आरोपको खण्डन गर्दै आफ्नो कार्यकालमा भएका राम्रा कामका फेहरिस्तसमेत अघि सारेका छन् ।
उनले आफ्नो कार्यकालमा सामाजिक कुरीति कमैया मुक्ति, छुवाछुत मुक्त नेपालदेखि सामाजिक रूपान्तरणका कतिपय कामको सुरुवात गरेको स्मरण गरेका छन् । भ्रष्टाचार निवारणका लागि आफैँ प्रधानमन्त्री भएका बेला भ्रष्टाचार निवारण ऐन २०५९ जारी गरेको विषय देउवाले यसबिचमा विशेष स्मरण गरेका छन् ।
कार्यकारी भूमिकाबाट देउवाले बिदाइ लिए पनि नेपाली कांग्रेसको भविष्य र १५औँ महाधिवेशन समयमै हुने कि नहुने भन्नेमा आशङ्का भने कायमै छ । संस्थापन इतर पक्षका नेता मधु आचार्यका अनुसार देउवाका वरपर रहेका व्यक्तिहरूका कारण विधानले तोकिएको समयभित्रै महाधिवेशन हुनेमा सन्देश छ ।
६ दशक लामो राजनीतिक यात्रामा उनले जति आरोह–अवरोह भोगे, जति सफलता र असफलताको सामना गरे, त्यो आफैँमा एउटा इतिहास हो । अब उनको राजनीतिक विरासत कसले कसरी अगाडि बढाउँछ, र नेपाली कांग्रेसले नयाँ नेतृत्वमा कस्तो दिशा लिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।