काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले हाल उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्याधिक हिमपात भइरहेकोले ती क्षेत्रमा रहेका आरोहण दल र पदयात्रीहरूलाई सर्तक रहन आग्रह गरेको छ ।
संघका अध्यक्ष फुर गेल्जे शेर्पाले मंगलबार जारी गरेको सूचनामा उच्च हिमाली क्षेत्रमा रहेका आरोहण दलहरूलाई असुरक्षित क्षेत्रमा नजान र पासहरू क्रस नगर्न अनुरोध गरिएको छ ।
‘उच्च हिमाली क्षेत्रमा रहेका सम्पूर्ण आरोहण दल तथा पदयात्रीहरूलाई सुरक्षित स्थानमा एकत्रित भएर रहन र नेपाल पर्वतारोहण संघ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरूसँग नियमित सम्पर्कमा रहन अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ ।
संघले सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई पनि आफ्ना दलहरू र पदयात्रीहरूको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन तथा समन्वय गर्न आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा आगामी केही दिनसम्म हिमाली भू–भागमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेको बताइएकाले संघले थप सर्तकता अपनाउन आग्रह गरेको हो ।



सपना सिंह







