images

१२ खोपकेन्द्र भवन निर्माण

बेझाड, १७ भदौ । पाल्पाको रामपुर नगरपालिकामा १२ खोपकेन्द्र भवन निर्माण गरिएको छ । खोप सुरक्षित राख्न र बालबालिका तथा नागरिकलाई भवनबाटै सहज सेवा उपलब्ध गराउन सो भवन निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७५÷७६ मा रामपुर नगरपालिकाबाट दुई वटा खोपकेन्द्र निर्माणका लागि रु तीन÷तीन लाख रकम विनियोजन भएको थियो । सो अन्तर्गत वडा नं ५ को आयुर्वेद औषधालय र वडा नं ९ को अर्बसिङ्मा पक्की भवन निर्माण गरी सेवा सेवा सञ्चालन गरिसकिएको छ । अर्बसिङ्को भवन बनाउन स्थानीय प्रताप सिं दिशाले भवन निर्माणका लागि चार आना जग्गा उपलब्ध गराएपछि नयाँ भवन बनेको हो ।

रामपुर नगरपालिकाको रु तीन लाख, वडा कार्यालयको रु एक लाख ८८ हजार र स्थानीयवासीको जनश्रमदानमा भवन निर्माण भएको खोपकेन्द्रका अध्यक्ष एवं वडा अध्यक्ष ईच्छाराम सिञ्जालीले बताए ।

दुई कोठे पक्की भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने सिञ्जालीले बताए । रामपुर नगरपालिकाभित्र सञ्चालनमा रहेका २१ वटा बाह्य खोपकेन्द्रमध्ये तीन वटाको भवन निर्माण सम्पन्न भइसकेको छ । यस आर्थिक वर्षमा वडा नं १ र ८ मा दुई वटा भवन निर्माण बन्ने प्रक्रियामा रहेको नगर स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गानाले बताए ।

रामपुर नगरपालिका साविकका गाविस गेझामा तीन, खालिवनमा चार, रामपुरमा छ, दर्छामा चार र गाडाँकोटमा चार वटा बाह्य खोपकेन्द्र सञ्चालनमा छन् । भवन अभावमा शहरी क्लिनिक, स्वास्थ्यचौकी, अस्पताल, आमा समूह, क्लबका भवनबाट सेवा दिइँदै आएको छ । रामपुर नगरपालिका–३ स्थित टाँडीमा भने गतवर्ष नै भवन निर्माण गरी सेवा दिइएको छ ।