images

 फेरियो ‘नाङ्गी’ गाउँको मुहार

बेनी, ३ असोज । अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीकी गेममायाँ पुनको दैनिकी फेरिएको छ । घरायसी काम र घाँसदाउरामा दिन बिताउँदै आएकी पुन अहिले हस्तकलाका सामग्री बनाउने काममा व्यस्त छिन् । उनी मात्रै होइन, सिर्जनशील आमा समूहमा आबद्ध ३५ महिलामध्ये अधिकाँशले फुर्सदको समयलाई उद्यमशीलतामा सदुपयोग गर्दैआएका छन् । गाउँमा आउने पर्यटकहरुले झोला, टोपी, स्विटर, गलबन्दी लगायतका सामग्री खरिद गरी लैजान थालेपछि उनीहरुमा उत्साह थपिएको हो । यस कार्यले उनीहरुको आयआर्जनमा समेत सुधार आएको छ ।
केही वर्ष अघिसम्म चुलोचौकोमा मात्रै सीमित हुने महिला गाउँमा पर्यटकको आगमन बढेसँगै उद्यमशीलतामा समेत जोडिने अवसर सिर्जना भएको वडा सदस्य समेत रहेकी पुनले बताइन् । “पर्यटन विकासले नाङ्गीलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, यहाँ महिला, पुरुष कसैले पनि समय खेर फाल्नु परेको छैन, घरगाउँमै बसेर आयआर्जनमा जोडिन पाएका छौँ,” उनले भनिन् ।

सन् २०११ देखि सञ्चालनमा आएको म्याग्दी र पर्वतको ग्रामीण भूगोल समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्या–पर्यटन पदमार्ग हुँदै नाङ्गी गाउँ क्षेत्रमा भम्रणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएपछि यस क्षेत्रको समृद्धिमा सघाउ पुगेको हो । म्यागासेसे पुरस्कार विजेता नाङ्गीमै जन्मिएका महावीर पुन र बाँसखर्कका डाक्टर लक्ष्मण पुनको अवधारणा अनुसार ग्रामीण भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र समुदायको विकास गर्ने उदेश्यले लघुउद्यम विकास कार्यक्रमसँगको सहकार्यमा सञ्चालन गरिएको यस पदमार्गको प्रचारप्रसार भएपछि पर्यटक आगमन बढ्दै गएको छ ।

पदमार्ग सञ्चालनमा आएको ८ वर्षको अवधिमा गाउँको अवस्थामा धेरै उतारचढाव आएको छ । परम्परागत खेतीकिसानी गर्नेहरु व्यावसायिक बनेका छन् । प्राङ्गारिक उत्पादन गरी पर्यटकलाई अर्गानिक स्वाद चखाउनुको साथै व्यावसायिक रुपमै आलु लगायतको तरकारी खेती गरी उनीहरु वार्षिक लाखौँ रुपैयाँ कमाउँछन् । अन्यत्र खेतीयोग्य जमीन बाँझो हुने क्रम बढिरहेको समयमा यहाँ भने व्यावसायिक कृषिसँगै युवाले बाख्रपालन गर्न थालेका छन् ।

पर्यटकको आगमन सँगै गाउँमा स्थापना भएको सामुदायिक लज, हाते कागज उद्योग, हस्तकला उद्योगमा काम गर्ने अवसरसँगै कृषिमा व्यावसायिक बन्ने, जाम बनाएर आयआर्जन गर्ने लहर आएको हिमाञ्चल माविका शिक्षक कृष्ण पुर्जाले बताए । “पदमार्ग सञ्चालन नहुँदै केही मात्रामा पर्यटकहरु क्याम्पिङको लागि आउने गर्थे, उनीहरु घुमेर फर्किन्थे, त्यसले यहाँका जनस्तरमा खास प्रभाव पारेको थिएन, अहिले दुई ठाउँमा सामुदायिक लज छन्, त्यहाँ काम गर्ने सबै स्थानीयवासी छन्, पदमार्ग सञ्चालनसँगै यहाँको आयआर्जन सुधारमा ठूलो टेवा पु¥याएको छ,” उनले भने ।

अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गले समेटिएको नाङ्गी र मोहरेडाँडामा सञ्चालन गरिएको सामुदायिक लजबाट भएको आम्दानीलाई लजको क्षमता विस्तार, पदमार्ग निर्माण सँगै सामुदायिक विद्यालयको शैक्षिक सुधार र भौतिक विकासमा खर्चिने गरिएको छ । नाङ्गीमा करीब १४० घरधुरीको बसोबास छ । केही वर्ष अघिसम्म तीव्र गतिमा रहेको बसाइसराइको दर रोकिएको छ । कतिपय शहरी क्षेत्रमा झरेका स्थानीय बासिन्दा समेत गाउँ फर्किएका छन् । पर्यटन मार्फत गाउँमै आयआर्जन हुन र विकास निर्माणले तीव्रता पाउन थालेपछि गाउँ छाडेर बाहिर जाने क्रम रोकिएको छ ।

नाङ्गीको सामुदायिक लजमा एक याममै १ हजार २०० पर्यटक भित्रिसकेको सामुदायिक लज व्यवस्थापन समितिका उपाध्यक्ष डमबहादुर फगामीले जानकारी दिए । उनका अनुसार, मोहरेडाँडामा घोरेपानी क्षेत्रबाट समेत बढी पर्यटक जाने भएकाले नाङ्गीको तुलनामा बढी पर्यटकको आगमन हुने गरेको छ । नागी क्षेत्रमा वार्षिक आन्तरिक र बाह्य गरी पाँच हजारको हाराहारीमा पर्यटक भित्रन्छन् । सामुदायिक लजमा दैनिक ३० जनालाई राख्ने क्षमता रहे पनि बढी पर्यटक आगमन भएमा होमस्टेमा राख्ने गरिएको छ ।
गाउँमा स्तरीय स्वास्थ्य सेवा

नाङ्गीमा पर्यटनसँगै समृद्धि मात्रै भित्रिएको छैन, पर्यटककै कारण स्तरीय स्वास्थ्य सेवासमेत उपलब्ध भएको छ । शहरी क्षेत्रबाट धेरै टाढा रहेकाले स्थानीयवासी र पर्यटकहरुको स्वास्थ्य उपचारलाई लक्ष्य गरी फेट नेपालले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य केन्द्रबाट गाउँमै स्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह हुने गरेको हो ।

भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने यस केन्द्रमा काठमाडौँको मोडल अस्पतालसँगको सहकार्यमा बिरामीको टेलिमेडिसिन प्रविधिमार्फत समस्या पहिचान गरी उपचार गरिन्छ । तीन वर्षदेखि सञ्चालनमा आएको स्वास्थ्य केन्द्रमा डाक्टरको समेत व्यवस्था गरेर सेवा प्रवाह हुँदै आएको र थप सेवा विस्तारका लागि पहल चालिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका आर्थिक व्यवस्थापक संयोजक कृष्ण पुर्जाले बताए ।

उनका अनुसार, स्थानीय बासिन्दालाई लक्ष्य गरी व्यवस्थापन समितिले आफ्नै कार्यविधि बनाएर स्थानीय परिवेशमा आधारित स्वास्थ्य बीमाको समेत योजना अघि सारेको छ । ग्रामीण पर्यटनको जागरण अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्या–पर्यटन पदमार्ग सञ्चालनमा आएसँगै गाउँमा खेतीकिसानी गरेका मानिसहरुमा पर्यटनको जागरण आएको छ । घरखर्च चलाउन पनि शहरदेखि विदेशसम्म पस्नुपर्छ भन्ने मान्यता हटेको छ ।

आफ्नो क्षमता र शीप अनुसार गाउँमै स्वरोजगार बन्ने लहर आएको छ । रघुगंगा गाउँपालिका–३ घुमाउने ताल हुँदै पर्वतको बाँसखर्कदेखि शुरु भएर डाँडाकटेरी–नाङ्गी–मोहरे–डाँडाखर्क–टिकोट–खिवाङ्ग–स्वाँत–ढाँणखर्क–खोप्रा–पाउँदार हुँदै नारच्याङ्गबाट तातोपानी जाने गरी सञ्चालन भएको यस पदमार्गमा पर्यटनमैत्री व्यवहारमा सुधार, स्वरोजगार बन्ने लहर र वातावरण संरक्षणप्रति जागरण आएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्या–पर्यटन पदमार्गका सचिव चित्र तिलिजाले जानकारी दिए ।

“मानिसको व्यवहार, बोली र लगनशीलतामा आएका परिवर्तन हेर्दा सामान्य हो तर, समाज परिवर्तनका आधारहरु यिनै हुन्, यो पदमार्ग सञ्चालनमा आएपछि गाउँको विकास र समृद्धिमा योगदान पु¥याउन थालेको छ,” तिलिजाले भने । पदमार्गमा पर्यटक आगमन बढ्न थालेसँगै लज सञ्चालन गर्ने, अर्गानिक उत्पादन गर्ने, पर्यटक पथप्रदर्शकको काम गर्ने, पर्यटकका सामान बोक्ने रोजगारीका अवसरसँगै कृषि र पशुपालन जस्ता सहायक पेशाहरु अङ्गालेर स्वरोजगार बन्ने क्रम बढेको उनले बताए ।

अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गको मुख्य आकर्षणको रुपमा धौलागिरि र अन्नपूर्ण हिमालका मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन, सूर्योदय, सूर्यास्त, चौंरीपालन, अग्ला पहाडहरुका घना जङ्गल, विभिन्न प्रजातिका लालीगुराँस, मगर समुदायको मिलेको गाउँबस्ती, रहनसहन, कला संस्कृति रहेका छन् । यो पदमार्गअन्तर्गत पर्यटकको सुविधाका लागि सञ्चालन भएका सामुदायिक लज र होमस्टेहरुमा स्थानीय उत्पादनको स्वाद चखाउने गरिन्छ । करीब ११ दिनमा भम्रण गर्न सकिने उक्त पदमार्गमा पर्यटकहरुको सुविधाका लागि ठाउँ ठाउँमा सामुदायिक लज, डायनिङ्ग हल, होमस्टे र निजी लजहरु सञ्चालनमा रहेका छन् ।