काठमाडौं । पछिल्लो समय लाइभ दोहोरीमा चर्चित बनेका गायक भीम पौडेलको निधन भएको छ । गायक पौडेलको स्याङ्जामा निधन भएको हो ।
बिरामी भएर उपचार गराइरहेका गायक पौडेलको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शरीरमा रगतको कमी रक्तअल्पताको कारण उनी दुई महिनादेखि घरमै आराम गरिरहेका थिए । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले पनि गायक पौडेलको निधन भएको जानकारी दिएका छन् ।
यसअघि पौडेलले आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमी भएका कारण शरीर सुक्दै जान थालेको जानकारी गराएका थिए
।
पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले पौडेलको अल्पायुमै निधन भएकोप्रति गहिरो दुस्ख प्रकट गर्दै परिवारजन र आफन्तहरुप्रति समवेदना व्यक्त गरेका छन् । यस्तै पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि गायक पौडेलको निधनमा दुस्ख व्यक्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन, ‘भीम शालीन स्वभावका गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो ।’