images

फ्रान्समा पेन्सन सुधार योजनाविरुद्ध प्रदर्शन

एजेन्सी । फ्रान्समा शनिबार हजारौं मानिसले सरकारको पेन्सन सुधार योजनाको विरोधमा प्रदर्शन गरेका छन् ।

फ्रान्सेली सरकारले सेवानिवृत्तिको उमेर ६२ बाट ६४ मा बढाउने गरी पेन्सन सुधार योजना अगाडि बढाउन लागेको छ ।

सेवा निवृत्तिभरण कोषको बोझ कम गर्ने सरकारी योजनाको विरोधमा त्यहाँका श्रम संगठनहरूले सरकारलाई दबाब दिन जनता सडकमा उत्रने अपेक्षा गरिरहेका छन् ।

पश्चिमा समृद्ध देशहरूमध्ये फ्रान्समा सबैभन्दा लामो पेन्सन अवधि छ । त्यहाँका नागरिक यो व्यवस्थाको निरन्तरता चाहन्छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन भने पेन्सन प्रणालीको निरन्तरता चाहने हो भने यसमा सुधार आवश्यक रहेकोमा जोड दिँदै आएका छन् ।

सडक प्रदर्शनमा अघिल्लो पटकको प्रदर्शनभन्दा २० प्रतिशत मानिस बढेको बताइएको छ । त्यहाँका श्रमिक संगठनहरूले सरकारले आफ्नो माग पूरा नगरे ७ मार्चदेखि फ्रान्समा जनजीवन प्रभावित हुनेगरी हड्ताल गर्ने चेतावनी दिएका छन् ।

पेन्सन सुधार कार्यक्रमबारे त्यहाँ राजनीतिक दलहरूबीच पनि गहिरो मतभेद छ ।

संसदमा संशोधनमाथिको बहसका क्रममा विपक्षी दलहरूले हजारौं संशोधन प्रस्ताव गरेपछि सरकारले संसदमा मतदान नगरी अध्यादेशमार्फत संशोधन कार्यान्वयन गरेको थियो ।