images

न्युजिल्याण्डमा बाढी र चक्रवातका कारण हजारौं मानिस प्रभावित, बिजुली र खानेपानीको आपूर्ति बन्द

एजेन्सी । न्युजिल्याडमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौं मानिसको विचल्ली भएको छ ।

उत्तरी न्युजिल्याण्डमा चक्रवातले वितण्डा मच्चाउँदा बिजुली र खानेपानीको आपूर्ति बन्द भएको हो । अभूतपूर्व वर्षासँगै आएको बाढी र चक्रवातले उत्तरी आइल्याण्डमा व्यापक रूपमा क्षति पुर्याएको हो ।

उत्तरी क्षेत्रको सानो टापुमा मात्रै करिब २५ हजार मानिस अन्धकारमा बस्न बाध्य भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

चक्रवातले घरका छानाहरु उडाइदिएको छ भने रुखहरु ढलेर सडक अवरुद्ध भएका छन् । बाढी प्रभावित हुन सक्ने इलाकाहरुमा मानिसलाई अन्यत्र जान भनिएको छ । विद्यालयहरु केही दिनका लागि बन्द गरिएको छ ।

एयर न्युजिल्याण्डले प्यासिफिक आइल्याड र तास्मनका उडानहरु रद्द गरेको छ । दक्षिणको ठूलो शहर अकल्याण्डमा पनि चक्रवातका कारण बिजुलीको आपूर्ति बन्द भएको छ ।

चक्रवात प्रभावित क्षेत्रका अधिकारीहरुले रेड अलर्ट जारी गर्दै आपत्काल घोषणा गरेका छन् ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले मौसमी सूचनाहरुलाई गम्भीर रुपमा लिन आग्रह गरेका छन् ।