images

टर्की भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

एजेन्सी । संयुक्त राष्ट्रसंघले भूकम्प ग्रस्त टर्कीका लागि १ अर्ब डलर जुटाउन विश्व समुदायलाई अपील गरेको छ ।

भूकम्प ग्रस्त टर्कीको भ्रमण गर्नुभएका राष्ट्र संघीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले टर्कीको अवस्था मुटु छियाछिया पार्ने खालको भएको बताएका छन् । त्यसकारण भूकम्प ग्रस्त टर्कीलाई करिब १ अर्ब डलरको सहयोग तत्काल जुटाउनु पर्ने उनको भनाइ थियो ।

भूकम्पबाट टर्कीमा मात्रै मृत्यु हुनेको संख्या अहिलेसम्म ३६ हजार १ सय ८७ पुगेको छ । सिरियामा ५ हजार ८ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

राष्ट्रसंघले दुई दिन अघि सिरियाका लागि ४० करोड डलरको सहयोग आवश्यक पर्ने जनाइएको थियो । उद्धार कार्य अहिले पनि जारी रहेकाले उद्धार गरिएका मानिसहरुको स्वास्थ्य उपचार, बसोबास र राहतका लागि ठूलो रकम आवश्यक पर्ने राष्ट्र संघकले जनाएको छ ।

उद्धारकर्मीहरुले भूकम्प गएको १० दिनपछि बिहीबार पनि एक जना १७ वर्षीय किशोरीलाई जीवित्तै उद्धार गरेका थिए । तर अब यस्तो चमत्कारिक सम्भावना कम हुँदै गएको उद्धारकर्मीहरुले बताएका छन् ।