एजेन्सी। टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।
टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ ।
हालसम्म टर्कीएमा ४० हजार छ सय ४२ जना तथा सिरियामा पाँच हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । टर्कीमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् ।
विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ ।