images

पाकिस्तानमा आत्मघाती हमलामा परि ९ प्रहरीको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती हमलामा ९ जना प्रहरीको ज्यान गएको छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा सोमबार भएको उक्त आत्मघाती बम हमलामा ९ जना प्रहरीको ज्यान गएको हो ।

घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो । मारिएका प्रहरी जवान बलुचिस्तानअन्तर्गतकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार घटनामा १० भन्दा धेरै प्रहरी घाइते भएका छन् ।

एक अधिकारीका अनुसार कम्बरी पुलमा बलुचिस्तान प्रहरीको एक गाडीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गाडीमा सवार सुरक्षाकर्मी आइतबार सकिएको सिबी मेलामा ड्युटी सकेर सिबीबाट क्वेटा जाँदै थिए । बलुचिस्तानका मुख्यमन्त्री मिर अब्दुल कुदौस बिजेन्जोले सुरक्षाकर्मीको गाडीमा भएको विस्फोटको निन्दा गरेका छन् ।

मुख्यमन्त्री मिरले घटनालाई आतंकवादी कृत्यको संज्ञा दिँदै मृतक तथा घाइतेका परिवारप्रति दुःख र शोक व्यक्त गरेका छन् ।

पाकिस्तानमा पछिल्लो केही समययता सुरक्षा बललाई निशाना बनाएर आक्रमण गर्ने क्रम तीव्र बनेको छ । बलुचिस्तानमा अलग्गै देश माग गरेर लामो समयदेखि आन्दोलन चलिरहेको छ ।