images

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति, सोमबार संसद्मा सम्बोधन गर्ने

काठमाडौं । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् ।

शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग९सीएमसी०को अध्यक्षमा चयन गरेको हो ।

चिनियाँ संसद्का रूपमा रहेको जनकंग्रेसका करिब ३ हजार सदस्यले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपति चयन गरेका हुन् ।

सीविरुद्ध कसैको उम्मेदवारी भने परेको थिए। तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओत्सेतुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । अहिले चुनावी प्रक्रिया अपनाइए पनि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो ।

सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो ।

सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।राष्ट्रपति बन्नका लागि कार्यकालको कुनै सीमा नराखिएकाले सी कहिलेसम्म चीनको राष्ट्रपति बन्छन् भन्ने विषय उनमै निर्भर रहने भएको छ ।

सोमबार सीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीपछि आर्थिक संकट झेलिरहेका बेला राष्ट्रपति सीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।