images

अमेरिकामा पुनः वित्तीय संकट, सिलिकन भ्याली बैंक बन्द

एजेन्सी । अमेरिकामा पुनः वित्तीय क्षेत्रमा संकट आएको छ ।

अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएका छन् । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ ।

सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ ।

बैंकले घाटा पूर्तिका लागि ठूलो हिस्सामा शेयर बेचेको र करिब २ दशमलव २५ बिलियन बराबरको नयाँ शेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला शेयरहोल्डर र वचतकर्ताले आफ्नो लगानी र वचत फिर्ता लिन सुरु गरेका थिए ।

क्यालिफोर्नियामा मुख्यालय रहेको बैंक टाट पल्टिने अवस्थामा पुगेको नियामक निकायको भनाइ छ ।

नियामक निकायले सबै वचतकर्ताको पैसा सुरक्षित भएको बताएको छ । फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले करिब १७५ बिलियन डलर बैंकमा डिपोजिट रहेको जनाएको छ ।