images

युक्रेनको बाख्मत शहर कब्जा गर्ने अन्तिम चरणमा पुगेको वागनरको दाबी

एजेन्सी । युक्रेनमा रुसकोतर्फबाट लडिरहेको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर कब्जामा आउनै लागेको दाबी गरेको छ ।

वागनर सेनाका प्रमुख यभ्गेनी प्रिगोजिनले बाख्मत शहरको मध्य भागको कुनै भवनमाथिबाट खिचेको भिडियो सार्वजनिक गर्दै आफूहरु बाख्मत नियन्त्रण गर्ने अवस्थामा रहेको दाबी गरेका छन् ।

भिडियोमा प्रिगोजिनले भिडियो खिचिरहेको स्थानबाट बाख्मतको मुख्य प्रशासनिक भवन एक किलोमिटर दुई सय मिटर पर रहेको बताएका छन् । अब सेनाबाट थप हतियार प्राप्त हुने वित्तिकै बाख्मत पूरै कब्जामा आउने पनि उनको दाबी छ ।

पृष्ठभूमिमा विष्फोट भइरहेको र बन्दुक पड्किरहेको आवाज आइरहेको भिडियोमा प्रिगोजिनले आफ्नो सेनाका लागि हरेक महिना दश हजार विष्फोटक पदार्थ आवश्यक पर्ने गरेको पनि खुलासा गरेका छन् ।

एक वर्ष लामो युद्धका क्रममा रुसी सेनाले बाख्मत शहर कब्जा गर्नका लागि निकै ठूलो समय र शक्ति प्रयोग गरिरहेको छ । बाख्मतको लडाइलाई सबैभन्दा रक्तपातयुक्त र भीषण भनिएको छ ।